-Taslima Nasrin धेरै मानिस मेरो नाम सलमान रुस्दीसँग जोड्छन् । तर, यसमा मेरो आपत्ति छ, किनभने दुई असमान मानिसलाई एकै ठाउँमा राखेर हेर्नु तर्कसंगत हुँदैन । आजकल मलाई निसंकोच महिला रुस्दी भनिदिन्छन् मान्छेहरू । तर, मेरो प्रश्न छ- सलमान रुस्दीलाई किन पुरुष नसरिन भनिन्न ? फतवालाई छाडिदिने हो भने हामीबीच कुनै समानता छैन । पुरुष भएकाले उनी सुविधा भोगिरहेका छन् र स्त्री भएकाले म असुविधाबाट घेरिएकी छु । म एक-एक गरेर असमानता गन्न चाहन्छु । फतवा जारी भएपछि उनले मुस्लिम कट्टरपन्थीसँग माफी मागे । जिन्दगीभर खाँटी मुसलमान बनिरहने कसम खाए । तर, मैले माफी मागिनँ । मुसलमान पनि हुन चाहिनँ । म बच्चैदेखि नास्तिक हुँ । जति आँधी-तुफान आए पनि सधैँ शिर उचो पारेर नास्तिक बनिराखेँ । इरानले रुस्दीविरुद्ध फतवा जारी गरेको थियो, तर उनी त्यस देशमा कहिल्यै बसेनन् । तर, म त्यही देशमा बसेँ जहाँ मलाई फासी दिने उद्देश्यले वर्षां उन्मत्त जुलुस निक्लिरहे, जहाँ असहिष्णु मुसलमान मेरो हत्या गर्न उद्यत थिए, जहाँको सरकारै मविरुद्ध खनिएको थियो । मैले महिनाँै रातको अँध्यारोमा लुकेर बस्नुपरेको थियो । सारा कट्टरपन्थी आफ्ना हातले मेरो गर्धन बटार्न व्यग्र थिए । यस्तो उग्र माहौलमा समेत म त्यस देशमा सशरीर उपस्थित थिएँ । फतवा चल्दै गर्दा रुस्दीलाई उनको देशमा कसैले पनि प्रताडित गरेनन् । उनलाई देश निकालाको सजाय दिइएन । रुस्दीको देश हो, बेलायत । उनी त्यहीँ थिए र त्यहीँ छन् । उनका विरुद्ध केवल एउटा फतवा जारी भयो । मेराविरुद्ध बंगलादेशमा तीन र भारतमा पाँच फतवा जारी भए । सबैमा मेरो टाउकोको मूल्य तोकिएको थियो । मलाई मेरो लेखनका कारण दुई देशबाट निकाला गरिएको थियो । रुस्दीको एउटा किताब प्रतिबन्धित छ भने मेरा पाँच किताब प्रतिबन्धित छन्- लज्जा, मेरो बाल्यकाल, उत्ताउलो हावा, द्विखण्डित र सारा अन्धकार । धर्मलाई निन्दा गरे पनि रुस्दी कुनै धर्मनिरपेक्ष संगठन या मानवअधिकार संगठनसँग जोडिएका छैनन्, तर म सक्रिय रूपमा जोडिएकी छु । उनी व्यक्तिगत जीवनमा अत्यन्त सामन्तवादी छन्, म भने ठीक उल्टो छु । रुस्दी एकपछि अर्की युवतीलाई समाउँछन्, भोग्छन् अनि छाडिदिन्छन् । बूढो भइसके, तर उनको यौनेच्छामा कुनै कमी आएको देखिँदैन । उनलाई अधिक समर्थन र सुन्दर प्रेमीका रूपमा सम्मान गरिन्छ र धेरै पुरुष उनको इष्र्या गर्छन् । यता, म भने पुरुष-साथीविना जीवन काटिरहेको छु, तर मेरो यौनजीवनबारे थरी-थरी कथा लेखिन्छन् । मलाई वेश्या र विकृत महिला भन्नेहरूको कमी छैन । पुरुष यौनजीवनको भरपूर उपभोग गर्न स्वतन्त्र छ, तर महिलाले यौनजीवनको उपभोग गरे वा यौनजीवनको उपभोग गर्ने अधिकारको कुरा गर्ने या लेख्ने गरेमा वेश्या हुन्छे । लेख्न सुरु गरेदेखि निन्दा खेपिरहेकी छु । महिलाको यौन स्वाधीनताको सवाल उठाएर मैले समाजको बाह्र बजाइदिएँ । रुस्दी र मबीच एक अर्को विचित्र समानता -या असमानता) यो छ कि रुस्दीलाई राम्रो लेखक मान्नेहरू धेरैले उनका किताब पढेका छैनन् । र, मलाई खराब लेखक मान्नेहरू धेरैले मेरा किताब पढेका छैनन् । रुस्दीसँग १९९३ देखि मेरो नाम जोडिन थालेको हो । इरानले उनका नाममा फतवा जारी गरेपछि रुस्दी विख्यात भएका थिए । उता, मेरो टाउकोको मूल्य घोषणा गरिएपछि मात्रै बंगलादेश र भारतका सीमामा केही मानिसले मेरो नाम थाहा पाएका थिए । म बंगलादेशमा नजरबन्दमा रहेका वेला मेरो पक्षमा खुलापत्र लेखेर आन्दोलन चलाउने युरोपेली लेखकमध्ये रुस्दी पनि एक थिए । तर, निर्वासनको वेलामा जर्मनीको एक पत्रिकामा छापिएको मेरो बयान पढेर उनी आगो भए । त्यो पत्रिकामा निराशा प्रकट गर्दै भनेको थिएँ, 'फतवाको डरले रुस्दीले माफी मागेका हुन् भने यो उनको कायरता हो ।' रुस्दी न्युयोर्कमा बस्छन् । म पनि त्यहीँ बस्छु, तर हामी दुईबीच भेटघाटको कुनै सम्भावना छैन । अमेरिकी कवि लेखकहरूको ठूलो संगठन 'पेन क्लब'का अध्यक्ष हुन् उनी । दुई वर्षपहिले पेन क्लबले अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी विशाल गोष्ठी आयोजना गरेको थियो । त्यसमा एसिया-अपि|mकाका धेरै लेखक जुटेका थिए, प्रायः सबै अपरिचित । म भारतबाट निर्वासित भएर यहाँ आएको सलमान रुस्दीलाई थाहा छ । मेरो अभिव्यक्ति स्वतन्त्रतामा जुन आघात भएको छ, त्यसको पछाडि घृणा र अविश्वास छन् । बंगलादेशमा मेरा सारा किताब सामाजिक होइन, सरकारी तवरबाट प्रतिबन्धित छन् । बंगलादेशबाट मात्र होइन, पश्चिमबंगालबाट पनि मलाई निर्वासन तोकिएको थियो । यति मात्र होइन, देशबाट बाहिर निकाल्नुअगाडिको साढे सात महिना मलाई कोलकाता र दिल्लीमा नजरबन्दको अवस्थामा राखियो । तर, मेरो इतिहासलाई छल, बल र कौशलले अस्वीकार गर्दै सलमान रुस्दी अभिव्यक्ति स्वतन्त्रताको उत्सव मनाइरहेका छन् । उनी जे चाहन्छन्, त्यो गर्छन् । उनका एक सुरक्षाकर्मीले उनीविरुद्ध एउटा किताब लेखेका छन् । उनले प्रकाशकसँग कुरा गरेर त्यस पुस्तकलाई छाप्न नदिने बन्दोबस्त मिलाए । र, उनी अभिव्यक्ति स्वतन्त्रताको उत्सव मनाइरहेका छन् ! उमेरले साठी काटिसकेका उनले युवतीहरूतिर लालचपूर्ण नजरले हेर्दा पनि उनलाई कसैले नराम्रो भन्न सक्दैन । उनीसँग संगत गरेका केही युवतीले आरोप लगाएका छन्- रुस्दी महिलालाई 'यौनवस्तु' बाहेक केही पनि सोच्दैनन् । तैपनि, उनलाई मानिसहरू घृणा गर्दैनन् । यो प्रचण्ड-पुरुषवादी लेखकको खुब नाम छ । मलाई उनीसँग जोडेर हेर्नुको कुनै अर्थ छैन किनभने फतवाबाहेक उनीसँग मेरो केही पनि मिल्दैन । दुई वर्षदेखि एक अर्काे व्यक्तिसँग मेरो नाम जोडिन थालेको छ । उनी हुन्, मकबुल फिदा हुसेन । ठूला चित्रकार हुन् । भारतमा उनको चित्र सबभन्दा बढी मूल्यमा बिक्छन् । धेरै मानिस उनलाई भारतको नम्बर एक चित्रकारका रूपमा हेर्छन् । उनले सरस्वतीको नांगो तस्बिर बनाएर हिन्दूमनलाई आघात पुर्याएका थिए । हिन्दूहरूले उनको चित्रलाई नस्ट गरिदिए । उनलाई धम्की दिइयो, हुसेन देश छाड्न बाध्य भए । म अभिव्यक्ति स्वतन्त्रतामा शतप्रतिशत विश्वास गर्छु । मकबुल फिदा हुसेन जे रचना गर्न चाहन्छन्, त्यो गर्न पाउने स्वतन्त्रता उनलाई हुनुपर्छ भन्ने मेरो मान्यता छ । उनीमाथि अत्याचार गर्ने अधिकार कसैलाई छैन । तर, जब हुसेनजस्ता ठूला चित्रकारसँग मजस्तो सानो व्यक्तिको नाम जोडिन्छ, म बेचैनी महसुस गर्छु । किनभने, व्यक्ति सानो भए पनि म आफ्ना आदर्शलाई निकै मूल्यवान् ठान्छु । मेरो आदर्शको तुलना कसैसँग गर्न सकिँदैन । जतिसुकै प्रख्यात व्यक्ति किन नहोस्, ऊसँग मेरो नाम जोडिँदा म पुलकित हुँदिनँ । हुसेनको सरस्वतीको नांगो तस्बिरलाई लिएर भारतमा विवाद सुरु भयो । त्यतिखेर स्वाभाविक रूपले म चित्रकारको पक्षमा थिएँ । मुसलमान समुदायमा नास्तिक निकै कम हुन्छन् । मैले मकबुल फिदा हुसेनका चित्र खोजी-खोजी हेरेकी छु । हिन्दूबाहेक अरू कुनै धर्मलाई उनले व्यंग्य गरेका छैनन् । उनी क्यानभासमा अरबी भाषामा अल्लाह लेख्छन् । उनमा इस्लामप्रति अगाध श्रद्धा र विश्वास भएको मैले स्पष्ट देखेँ । इस्लामबाहेक अर्काे धर्ममा उनी विश्वास गर्दैनन् । हिन्दूत्वप्रतिको अविश्वासले उनले लक्ष्मी र सरस्वतीलाई नांगो चित्रित गरे । उनी पैगम्बर मोहम्मदलाई नांगो चित्रण गर्न सक्छन् ? मलाई विश्वास छ, उनी सक्दैनन् । मलाई कुनै पनि धर्मका देवी/देवताका नांगा चित्र बनाउन हिच्किचाहट छैन । दुनियाँका हरेक धर्मप्रति मेरो मनमा समान रूपले अविश्वास छ । म कुनै धर्मलाई माथि राखेर अर्कोप्रति घृणा प्रदर्शन गर्ने कोसिस गर्दिनँ । हुसेन पनि तिनै धार्मिक मानिससरह हुन् जो आफ्नो धर्मप्रति विश्वास राख्छन्, तर अरूका धर्मप्रतिको विश्वासलाई निन्दा गर्छन् । फिदा हुसेनसँगै मेरो नाम लिइन्छ । कहाँ उनी विशाल वृक्ष र कहाँ म सानो छेस्को ! कहाँ म नास्तिक र उनी आस्तिक ! हामीबीच केको समानता ? फिदा हुसेनसँग मेरो एक मात्र समानता छ । धर्मान्ध मानिस आक्रामक भएपछि लगभग एकसाथ हामी दुई देश छाड्न बाध्य भएका थियौँ । बाँकी असमानता मात्रै छन् । पहिलो असमानता त यो हो कि उनले स्वेच्छाले देश छाडेका हुन्, मैले स्वेच्छाले छाडेको होइन । अनि, मलाई आफ्नो कोलकाताको घरबाट होइन, भारतबाटै निकाला गरिएको हो । कट्टरपन्थीले होइन, स्वयं सरकारले मलाई देशनिकाला गर्यो । विदेशमा हुसेनको आफ्नो घर छ, मेरो छैन । हुसेनलाई देश फर्काउन सरकार पूरा कोसिस गरिरहेको छ । मलाई न भारत सरकारले र्फकन दिएको छ न बंगलादेश सरकारले । भारतबाट निक्लेर गएपछि मैले धेरैपटक त्यहाँ र्फकने कोसिस गरेँ, तर असफल भएँ । हुसेन त एक केवल धर्मलाई व्यंग्य गर्छन्, म त नारी अधिकारका कुरा गर्दै दुनियाँका सबै धर्ममा वणिर्त स्त्रीविरोधी श्लोकका आलोचना गर्छु । नारीविरोधी संस्कृति र कानुन समाप्त हुनुपर्छ । सबै धर्मको आलोचना गर्छु, म । आफ्ना आत्मीयजन र आफन्तका धर्म इस्लामलाई अलग राखेर हेर्दिनँ । म रुस्दी र हुसेनजति प्रसिद्ध छैन । उनीहरूका साथ मेरो नाम लिइनु हुँदैन । मैले लामो समयसम्म धर्मान्ध र शक्तिशाली सरकारको अत्याचार सहन गरेको छु, तर यी दुईले त्यस्तो केही पनि सहेका छन् । बेघर भएर, अनिश्चतता र अभावका साथ म आफूले आफूलाई बचाउन एक्लै संघर्ष गरिरहेको छु । मेरो साथमा कोही छन् भने ती हुन्- आदर्श र विश्वास । यी दुई विख्यात मानिसका सिर्जनाप्रति असीम श्रद्धा गर्दै भन्छु- यी दुई पुरुषका साथ कोष्ठकमा मेरो नाम राख्नु उचित छैन । धर्ममुक्त, विषमतामुक्त, समान अधिकारयुक्त समाजको रचनाका लागि म जुन संघर्ष गरिरहेकी छु, यी दुई पुरुष त्यसको छेउछाउ पनि पुगेका छैनन् । अनुवादः वन्दना ढकाल
Friday, 18 June 2010
रुस्दी र हुसेनभन्दा बिल्कुल भिन्न म
Posted by Krajend at 07:42
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment