Saturday, 26 June 2010

मरेपछि मात्रै जो महान् भए

०४६ सालदेखि रूपचन्द्र विष्टको अन्तिम समयसम्म सँगै रहेका उनका सहयोगी र चेस पार्टनर समय बज्राचार्यका केही स्मृति :
प्रस्तुति : राजेश राई (Nayapatrika, 25 june 2010)
राजालाई गोली ठोक्नुपर्छ
०३६ सालमा जनमत संग्रह घोषणापछि एक दिन काठमाडौंको ओमबहालमा एउटा सभा थियो । म ओमबहालकै हिमालय प्रेसमा काम गर्थें । त्यसदिन म पनि सभामा गएको थिएँ । गणेशमान, बिपीलगायत ठूला नेता आएका थिए । नाम सुनेका र चिनेका नेताका भाषण ठीक-ठीकै लाग्यो । तर, अन्तिमतिर कहिल्यै नचिनिएका र नसुनिएका नेता आएर भाषण गरे । उनले भूमिका नबाँधी भने, 'मभन्दा अघिकाको कुरा पनि सुन्नुभयो, पछिकाको पनि सुन्नुहुनेछ । म यति मात्रै भन्छु- यो देशमा दुईवटा राजा छन् । एउटा राजालाई गोली हानी मार्नुपर्छ, अनि मात्रै जनमुखी शासन आउँछ ।' यति भन्नेबित्तिकै प्रहरीले हस्तक्षेप गरिहाल्यो । भागाभाग भयो । म पनि त्यहाँबाट भागिहालेँ । के-के भयो, पत्तै पाइनँ । धेरै वर्षपछि मात्रै थाहा पाएँ- रूपचन्द्र विष्ट भन्ने मान्छे तिनै रहेछन् ।
थाहा बूढा
०४६ सालको जनआन्दोलमा लागेको भन्दै मलाई प्रेसबाट निकालियो । त्यसपछि मैले काठमाडौंको सोल्टीमोडमा 'स्वस्तिक स्टेसनरी' खोलँे । आन्दोलन सफल भएको केही समयपछि एकदिनको कुरा हो- ठूलो पानी परेको थियो । म पसलको सटर आधा मात्रै खोलेर बसिरहेको थिएँ । एकजना मान्छे पानीले निथ्रुक्क भिजेर मेरो पसल अगाडि आए । मैले उनलाई बस्न मुढा र पानी पुछ्न रुमाल दिएँ । मुढा र रुमाल दिएपछि उनले मतिर फर्किएर भने, 'पहिलो भेटमै यति धेरै प्रेम ?' 'होइन, साह्रै भिज्नुभा'रहेछ नि !' मैले भनेँ । उनले पानी पुछेर मलाई भने, 'तैंले मलाई चिनेको छस् ? मेरो बारेमा तँलाई थाहा छ ?' मैले थाहा छैन भनँे । एकाएक तँ-तँ र म-म गरेर कुरा गर्छ बा, म त अचम्ममा परँे । चिया दिएँ । उनले चिया पिउँदै भने, 'तेरो घर कता हो ? 'साँखुमा' मैले भनेँ ।
पानी रोकिएपछि 'मेरो घर ऊ त्यहाँ छ, कहिलेकाहीँ गफ गर्न आइज,' भनेर उनी हिँडे । उनको घर मेरो पसलपछाडिपट्ट िनजिकै रहेछ । नचिनेका मान्छेले यसरी कुरा गर्दा म विष्मित थिएँ । म त साह्रै झगडालु मान्छे थिएँ । कसैले ठूलो स्वर गर्‍यो भने टिपेर फालिदिन्थेँ । तर, त्यसदिन उनले त्यस्तो तँ-तँ र म-म गर्दा पनि रिस उठेन ।
भोलिपल्ट पनि उनी मेरो पसलमा आए र एउटा खाली कागजमा 'थाहा' लेखेर गए । किन लेखे ? त्यति वास्ता गरिएन । तर, हरेक दिन आउँदै खाली कागज देख्नेबित्तिकै 'थाहा' लेख्दै जान थाले, उनी । मकवानपुरनिवासीे अकुर रायमाझी भन्ने मेरो पसलमा स्टेसनरीका सामान लिएर आउँथे । मैले उनलाई यो 'थाहा प्रकरण'बारे बताएँ । उनले 'सत्यको परिचय, भ्रमको विपरीत- थाहा' भनेर लेखिदिनू भनेर सिकाए । मैले अर्को दिन त्यसै गरेँ । 'तँैले यो मन्त्र कसरी थाहा पाइस् ?' उनले सोधे । 'मैले यस्तो-यस्तो मान्छेबाट पत्ता लगाएँ' भनेँ । अनि मैले उनलाई सोधेँ, 'थाहा भनेको के हो ? उनले भने, 'यत्रो लेखेको छ । यति पनि बुझनिस् भने तेरो टाउको केका लागि ?'
त्यसपछि त उनी प्रत्येक दिन मेरो पसलमा आउँथे । हामी दुईजना चेस खेल्थ्यौँ । उनी चेसमा अत्यन्त सिपालु थिए । कहिल्यै नहार्ने । एकदिन मैले हराइदिएपछि उनले भने, 'तैँले मलाई बुद्धिले हराएको होइन । जथाभावी चालेर जितिसि् । यसरी चेस खेलिन्न, बाबु !' मलाई गर्नुसम्म गाली गरे ।
उनी मेरो चेस पार्टनर थिए । तर, मैले उनलाई रूपचन्द्र विष्ट भनेर चिनेकै थिइनँ । 'थाहा बूढा' भनेर मात्रै चिनेको थिएँ । एकदिन हेटौंडाबाट धर्मराज थला भन्ने मान्छे मेरो पसलमा रूपचन्द्र विष्ट सोध्दै आइपुगे । मैले त 'चिन्दिनँ' भनेँ । उनलाई भेट्न हेटौंडाबाट मेरो पसलको लोकेसन लिएर आएका रहेछन् । उनले 'थाहा' लेख्ने बूढा भनेपछि मैले उनको घर देखाइदिएँ । त्यसदिन मात्रै मैले मेरो चेस पार्टनर त 'रूपचन्द्र विष्ट' रहेछन् भनेर थाहा पाएँ । पछि, अरूबाट उनीबारे धेरै कुरा थाहा पाएँ ।

ए भाते, मीठो भनेको के हो ?
उनको मन पर्ने नाम 'रुदाने' भन्ने थाहा पाएपछि मैले उनलाई 'रुदाने' भनेर सम्बोधन गर्ने थालँे । उनी मलाई सधँै 'तँ' र भाते भनेर सम्बोधन गर्थे । जहिल्यै पनि वि्रदोही र अनौठा काम गरिरहन्थे । अरूलाई रिस उठाउने तरिकाले के-के गरिरहन्थे । कोही चिनेको मान्छे बाटोमा हिँडिरहेको छ भने केही नभनी झ्याम्मै हिर्काइदिन्थे । कुटाइ खानेले प्रतिकार गर्न आयो भने तर्क/वितर्क गर्थे र खुसी हुन्थे । प्रतिकार नगरी कुटाइ खाएर त्यत्तिकै जानेलाई चाहिँ 'लाछी' भन्थे । एकदिन सोल्टीमोडमा घर भएको मान्छे हातमा रक्सीको बोतल बोकेर घरतिर जाँदै थियो । पछाडिबाट बोतल खोसेर रूपचन्द्रले ठाडो घाँटी लाएर आधा बोतल रक्सी खाइदिए । मैले 'के गरेको यस्तो ? यस्तो गर्नुहुन्न,' भनँे । उनले फिस्स हाँसेर भने, 'तँ भातेलाई गर्नुहुन्छ कि हँुदैन, के थाहा ?'
सोल्टीमोडमा उनको घर त थियो, तर ढलान मात्रै गरेर छाडेको । उनी एक्लै थिए । एकदिन कुखुराको मासु ल्याएका रहेछन् । मलाई पनि घर जाऊँ भने । घरमा भाँडाकँुडा असरल्ल थिए । मलाई भात पकाउन अह्राए, तर स्टोभमा मट्टीतेल थिएन । 'स्टोभमा, मट्टीतेल छैन, रुदाने ?' भन्दा उनले भने, 'तेरो सरकारले सबै मट्टीतेल खान्छ, अनि कसरी मेरो घरमा हुन्छ ?' घरअगाडि भीमसेनपातीको ठूलो रूख थियो । त्यसकै हाँगा काटेर दाउरा बनाएका रहेछन् । त्यही दाउरा जोरेर भात पकाउन थालेँ । पानीमा मासु, दाल, चामल, नुन सबै हालेर पकाउन लगाए । 'यसरी पकाउँदा मीठो हँुदैन' मात्रै के भनेको थिएँ उनी जंगिहाले, 'ए भाते, मीठो भनेको के हो ? जसरी भनेँ त्यसरी पका ।'
मलाई चिनेकाहरूले चिनेनन्
०४८ सालको आमनिर्वाचनमा चुनाव लड्न गए । बूढा, चुनावमा हारेर आए । त्यसपछि उनी निकै निराश भए । जीवनदेखि प|mस्ट्रेटेडजस्ता । उनी मलाई भन्ने गर्थे, 'हेर् भाते, यो देशमा मजस्तै देशलाई माया गर्ने मान्छे पनि जन्मिए र चोरफटाहा पनि जन्मिए । तर, अब चोरफटाहाको मात्रै राज चल्न थाल्यो । मेरो तपस्या भंग गराए । मैले चिनेकाहरूले मलाई चिनेनन् र चिन्छु भन्नेहरूले पनि माया गरेनन् । जतिसक्दो चाँडो म यो जीवन त्याग्न चाहन्छु ।'
रक्सी असाध्यै पिउन थालेका थिए । सोल्टीमोडपारिको चुन्नी पाखामा एउटा भट्टी थियो । त्यहाँ रक्सी खाएर केटाकेटीसँग गुच्चा खेल्दै दिनभरि बस्थे । 'तपाईंजस्तो मान्छेले यस्तो गर्नुहुन्न,' भनेर सम्झाउँदा 'अब के गर्ने त ?' भन्थे । कुनै वेला त थाम्नै नसक्नेगरी पिउँथे । मैले उनलाई धेरैपटक बोकेर घरसम्म पुर्‍याइदिएको थिएँ ।
म उनलाई 'मलाई हेटौंडा नलाने ?' भनेर कचकच गर्थें । उनको एउटा रातो बेन्ज कार थियो । एकदिन कार लिएर मेरो पसलअगाडि आएर 'ए भाते, हेटांैडा जान्छस् ?' भनेर सोधे । मैले 'जान्छ'ु भनँे । त्यत्ति नै खेर म हेटौंडा जान तयार भएँ । उनले 'तेरो बूढीलाई सोधिस् ?' भने । मैलेे 'छैन' भनेपछि उनले भने, 'भाते, तुरुन्तै सोध्, नभए तँलाई म लग्दिनँ ।' त्यसदिन मोरी माइत गएकी थिई, लगनखेलमा । करिब आधा घन्टाजति फोन गरेँ, तर ससुरालीको फोन उठेन । 'तँ अब जान पाउँदैनस्, तँलाई तेरै घरमा काम आइपर्छ,' भनेर उनी हुइँकिए । उनी गएको करिब १० मिनेटपछि श्रीमतीले उनका बालाई बिरामी भएर वीर अस्पताल लगिएकाले तुरुन्त अस्पताल आउन फोन गरिन् ।
चार दिनपछि रूपचन्द्र हेटौंडाबाट फर्के । आउनेबित्तिकै मलाई 'बिरामी कस्तो छ ?' भनेर सोधे । मैले 'को बिरामी ? कसरी थाहा पाउनुभयो ?' भनेर सोध्दा उनले 'तैँले थाहा दिएर थाहा पाएको नि !' भने । मलाई अचम्म लाग्यो ।

कल्पनादास समय
एकदिन पसलमा बसिरहेको थिएँ । रूपचन्द्र हतार-हतार मेरो पसलमा आए । 'ए भाते, मेरो घरमा बाउ बन्दे भन्दै एउटा केटो आयो । म के गरूँ ?' म अचम्ममा परेँ । बाउ बन्देऊ भन्दै को आयो होला भनेको त खासमा त्यो केटो उनकै छोरा रहेछन् । त्यसको निकै लामो अन्तरकथा रहेछ । मलाई सबै सुनाए । त्यसपछि मैले राख्दा राम्रै हुन्छ भन्ने सल्लाह दिएँ । हामी दुवैजना उनको घरमा गयौँ । यसो हेरेको छोरा त काटीकुटी रूपचन्द्र विष्टजस्तै ! मैले 'तपाईंजस्तै रहेछन् तपाईंको छोरा । तपाईं पनि युवावस्थामा यस्तै हुनुहुन्थ्यो होला' भनेँ । त्यसपछि, उनले भने, 'कति न मलाई उहिलेदेखि चिन्याजस्तो गर्छस्, भाते । म बाल्यकालमा या युवावस्थामा कस्तो थिएँ ? तँलाई के थाहा ?' मैले 'तपाइर्ं युवावस्थामा यस्तै हुनुहुन्थ्यो होला भनेर कल्पना गरेर भनेको नि !' भन्दा उनले मेरो नामै 'कल्पनादास समय' राखिदिए । कल्पनाको दास भएकाले मेरो नाम कल्पनादास समय राखेको रे π 'हामी नेपाली कामचाहिँ गर्दैनौँ, कल्पना मात्रै गरेर बस्छौँ । हामी कल्पनाको दास हौँ,' उनी भन्ने गर्थे । छोरा आएपछि उनमा केही उत्साह पलाएको थियो । 'मेरो पनि कोही छ' भन्ने बोधले उनी खुसी देखिन्थे ।
एक वर्षजति छोरासँग राम्ररी बसे । तर, पछि छोरासँग झगडा भयो, उनको । झगडाको कारणचाहिँ छोराले व्यापार गर्छु भनेर दुई/तीन लाख रुपैयाँ मागेका थिए रे ! तर, रूपचन्द्रले 'कस्तो व्यापार ? कहाँ गर्ने ? पूरै योजना बनाएर पेस गर्नू, अनि मात्रै पैसा खोजिदिन्छु' भनेछन् । तर, छोराले योजना बनाएर पेस गर्न सकेनन् । पैसा नदिएपछि छोराले अंश माग्न थाले । त्यसपछि उनले छोरालाई घरबाटै निकालिदिए । अरूको उक्साहटमा छोरा बाबुविरुद्ध लागेको कुरा सुनिन्थ्यो ।
एक अन्तर्वार्ताको रु. दुई हजार शुल्क
०५१ को चुनाव लड्न उनी फेरि मकवानपुर गए । यसपटक पनि उनी पराजित भए । मैले चुनावमा पराजित भएर आएपछि हेटौंडा किन नलगेको भनेर सोध्दा उनले भने, 'मकवानपुरमा केही घीनलाग्दा अपराधी बस्छन् । तँ भाते त्यहाँ गइस् भने त्यहीँ हराउँछस् ।' खै के भनेको हो, मैले कुरै बुझनिँ ।
दोस्रोपल्ट पनि चुनाव हारेपछि उनी झन् निराश भए । उनको राजनीतिक क्रियाशीलतामा शिथिलता आयो । रक्सी झनै पिउन सुरु गरे । पैसा हुँदा उनी बाहिरै खाना खान्थे । नहुँदाचाहिँ मेरोमा आउँथे । 'आजचाहिँ तेरैमा बस्न आउँछु
है !' भन्थे । बेलुका हामी दुईजना रक्सी खान्थ्यौँ । बढी नै निराश भएर हिँड्न थालेपछि 'मैले यस्तो गर्नुहुँदैन' भनेर एकोहोरो किचकिच गर्न थालँे । अरू साथीले पनि पुनः क्रियाशील हुन अनुरोध गरेपछि उनले लेख्न सुरु गरे ।
बनिनसकेको घर भए पनि पाँचवटै कोठामा उनले ओछ्यान लगाएका थिए । प्रत्येक दिन कोठा फेरिफेरी सुत्थे । मैले उनलाई किन यस्तो गरेको भनेर सोध्दा उनले भने, 'तँ भातेलाई केही पनि थाहा छैन । तिमीहरूले नै सुतिसकेको बाघलाई फेरि उठ्-उठ् भन्यौ र लेख्न सुरु गरेँ । बाघ उठेपछि सिकारीहरू बाघ मार्न आउन सक्छन् । राति सिकारी आउँछ कि भन्ने डरले कोठा परिवर्तन गर्दै सुतेको ।' उनी दिनभरि कता जान्थे ? कोसँग, कस्तो कुरा हुन्थ्यो, त्यो त मलाई थाहा भएन । तर, उनलाई आफूलाई कसैले मार्छ कि भन्ने त्रास थियो । मलाई बारम्बार भन्थे, 'भाते, मलाई जोसुकैलेे पनि मार्न सक्छ ।'
लेखनमा सक्रिय भएपछि पत्रिकाहरूले उनकोबारे चासो लिन थाले । एकदिन 'घटना र विचार' साप्ताहिकबाट अन्तर्वार्ताका लागि फोन आएछ । मलाई आएर उनले भने, 'भाते, पत्रकारहरू मेरो अन्तर्वार्ता लिन आउने भएका छन् । कुरा बंग्याएर छाप्न सक्छन् । त्यसो गरे भने मुद्दा हाल्नुपर्छ । त्यसवेला पैसा चाहिन्छ, फेरि अन्तर्वार्ताको पारिश्रमिक पनि चाहियो । यसका लागि धरौटी माग्नुपर्‍यो । कतिजति माग्नु भन् त ?' म धेरै नपढेको, नबुझेको मान्छे ! यस्तो विषयमा केही ज्ञान थिएन । पाँच हजार धरौटी माग्नुपर्छ भनिदिएँ । उनले 'त्यो त धेरै भयो, दुई हजारजति मागौँ' भने ।
भोलिपल्ट घटना र विचार पत्रिकाबाट रूपचन्द्रलाई खोज्दै देवप्रकास त्रिपाठी र अर्का एकजना पत्रकार मेरो पसलमा आए । मैलेे घरमा पुर्‍याइदिएँ । अन्तर्वार्ता दिनुअघि रूपचन्द्रले उनीहरूलाई भने, 'मेरो अन्तर्वार्ताका लागि मलाई दुई हजार चाहिन्छ । एक हजार मेरो पारिश्रमिक, एक हजारचाहिँ तिमीहरूले गल्ती छाप्यौ भने तिमीहरूविरुद्ध मुद्दा लड्ने खर्च । मैले जे भनेको छु, त्यही छाप्यौ भने पैसा फिर्ता पाउँछौ ।' रूपचन्द्रले यसो भनेपछि उनीहरू स्तब्ध भए । अन्ततः उनीहरू पैसा दिन सहमत भए र, अन्तर्वार्ता लिएर गए । पछि, 'पत्रिकाले जस्ताको तस्तै छाप्यो, सबै पैसा फिर्ता दिएँ' भन्दै थिए, रूपचन्द्र ।
विचार बाँड्नू, भोट नमाग्नू
०५६ मा फेरि चुनाव भयो । उनले फेरि चुनाव लड्न जान्छु भने । मैले काठमाडौंबाटै चुनाव लड्न धेरै आग्रह गरेँ । उनले मानेनन् । तर, चुनाव प्रचार-प्रसारको क्रममा बिरामी भएछन् र फर्किएर काठमाडौं आए । त्यसवेला एमालेका अध्यक्ष मनमोहन अधिकारीको निधन भएर काठमाडौं क्षेत्र नं. १को चुनाव स्थगित भएको थियो । मैले 'तपाईंको विचार जनतासामु पुर्‍याउन पनि उठ्नुपर्छ' भन्दा उनले भने, 'अब मेरो विचार किन पुर्‍याउनु ? नचिनेकाले मलाई चिनेजस्तो गर्छन्, चिनेकाले नचिनेजस्तो । तँ, भातेलाई केही पनि थाहै छैन । तँजस्ता एकजना कुदेर केही पनि हुन्न ।'
पछि साथीहरूसँग सल्लाह गरेछन् । काठमाडौंबाट उठ्न सहमत भए । मेरी श्रीमतीलाई उनी मोटी भन्थे । मेरी श्रीमतीलाई भनेछन्, 'मोटी, तेरो पोइले ज्यादै जिद्दी गर्‍यो । त्यही भातेका लागि चुनाव लड्दै छु ।'
रूपचन्द्र विष्ट, नवीन विष्ट र म तीनजना भएर उनको उम्मेदवारी दर्ता गर्न गयौँ । अरू पार्टीका त नाराबाजीसहित हुल बनाएर आएका थिए । त्यहाँ उम्मेदवारको फोटो चाहिनेरहेछ । हामीसँग थिएन । नेगेटिभबाट हतार-हतार बागबजार गएर मैले फोटो धुलाएर ल्याएँ । नोमिनेसन दर्ता गर्ने दिन धेरै पत्रकारले उनीसँग प्रतिक्रिया लिन खोजे, तर उनले केही पनि बोलेनन् ।
रूपचन्द्र र मैले मेरो पसलनजिकै एउटा गोलघर बनाएका थियौँ । त्यहाँ बसेर चेस खेल्नेलाई एक कप चिया दिन्थ्यौँ । त्यसबापत दस रुपैयाँ लिने गथ्र्याैं । त्यही गोलघरमा बसेर हामीले रातभरि पर्चा बनायौँ । पर्चा सबै उनले नै लेखे । नवीन विष्टको प्रेस थियो । त्यहाँबाट पर्चा निकाल्यौँ । नवीन, रणसंग्राम, मुक्तिसंग्राम गरी हामी ६ जना उनको प्रचार-प्रसारमा थियाँै । हामीलाई चुनावी ज्ञान शून्य थियो । तैपनि, प्रत्येक दिन हामी प्रचारमा गइरहेका थियौँ । एकदिन रूपचन्द्र प्रचारसामग्री राखेको ठाउँमा गएछन् । प्रचारसामग्री थुपि्रएर बसेको देेखेपछि मसँग रिसाएर भने, 'भाते, यो मलाई पोल्न राखेको !' त्यसदिन त मलाई यति धेरै हकारे कि म ह्वाँ-ह्वाँ रोएँ ।
उनी हामीलाई 'कोणसभा गरेर आउनू' भन्थे । तर, हामी प्रचारमा लागेका ६ जनालाई बोल्नै आउँदैनथ्यो । अनि केको कोणसभा ?
प्रचारसामग्रीमा उनको फोटो थिएन । एकदिन हामीलाई मान्छेहरूले तिमीहरूको नेताको फोटो खोइ ? भनेर सोधे । मैले बेलुका आएर उनलाई फोटो टाँस्नुपर्‍यो भनेँ । उनले भने, 'मेरो फोटो हेरेर भोट दिने होइन, मेरो विचार हेरेर दिने हो । मेरो विचारसँग सहमत नभई कसैले मलाई भोट दिए भने त्यो पनि धाँधली नै हो ।' विचार मात्रै बाँड्नू, भोट नमाग्नू भन्थे उनी ।
प्रचारका क्रममा हामी नांग्लेभीर पुगेको थियौँ । त्यहाँ पुग्दा त अर्काे पार्टीका कार्यकर्ताले रूपचन्द्र विष्ट मर्‍यो भनेर माइकबाट फुकिरहेका रहेछन् । उनीहरूसँग हाम्रो झन्डै झडप भएको ! यो कुरा रूपचन्द्रलाई मुक्तिले सुनाइदिए । त्यसपछि रूपचन्द्रले हेटौंडा फोन गरेर रामनारायण बिडारी, बलराम बलहरूलाई बोलाए ।
अर्को दिन दिउँसो म चुनाव प्रचारबाट फर्केपछि थाकेर बसिरहेको थिएँ । हेटौंडाबाट एउटा एम्बुलेन्स आएर मेरो पसलअगाडि रोकियो । एम्बुलेन्सबाट दुईजना निस्किएर र भने, 'रुदाने मर्‍यो अरे, कहाँ छ ? हामी त लिन आएको ।' म त अचम्ममा परेँ । रिस पनि उठ्यो । मैले दुवैजनाको कानमा समाएर रुदाने बसेको ठाउँमा लगेर देखाइदिएँ । रुदाने बसेर लेखिरहेका थिए । उनलाई देखेपछि ती दुवैजना जिब्रो टोक्दै भागे । वास्तवमा त्यो एमालेहरूले रुदाने मरेको अफवाह फैलाएका रहेछन् ।
फोन गरेको तेस्रो दिन होला, हेटौंडाबाट रामनारायण बिडारी, बलराम बलहरू काठमाडौं आए । रूपचन्द्रले उनीहरूसँग मेरो चिनजान गराए । रामनारायण बिडारीलाई चाहिँ 'यो मेरो हेटौंडाको टेपरेकर्डर' भनेर परिचय गराए । एमालेहरूले अफवाह फैलाएपछि हामीले रूपचन्द्रलाई सबै क्षेत्रमा घुमायौँ ।
चुनावको दिन साँखुको भाग्यदोय निमाविमा एजेन्ट बसेँ । मतदान गणना भएको ठाउँमा नवीन विष्टलाई पठायौँ । चुनावको दिन राति एक बजे बसेर छलफल गर्दा रूपचन्द्रले मलाई देखाउँदै भने, 'एक भोट त यो भातेबाट स्योर छ । बाँकीचाहिँ एउटा गाविसबाट एकजनाले दियो भने ३२ होला, दुई/दुईजनाले दिए भने ६४ होला । त्योभन्दा बढी भोट आउँदैन । भोट किनबेच हुन्छ, हामीले किनेका छैनौँ ।' नभन्दै उनले जम्मा ८१ भोट पाए ।
पर्चा बक्सिस
चुनाव सकिएको केही दिनपछि एक साँझ उनी र म मेरो कोठामा बसेर रक्सी खाँदै गफ गरिरहेका थियौँ । मैले 'अबचाहिँ संगठन बनाउनुपर्छ' भनेँ । उनले झडंग रिसाएर भने, 'तँ भातेलाई जति भने पनि केही बुझनिस् । संगठन बनाउने होइन, आफँै बन्नुपर्छ । आफैँ बनेको संगठन मात्रै राम्रो हुन्छ । ल भैगो, तँ संगठन बना, म आएर सम्बोधन गरिदिउँला ।' यति भनेपछि उनी एकोहोरो हाँस्न थाले । किन हाँसेको भनेर सोध्दा उनले निराश भएर भने, 'तँ भाते संगठनको कुरा गर्छस्, अब म धेरै बाँच्दिनँ ! म बाटोमा मरेँ भने मलाई लगेर कसैलाई नभनी पोलिदिनू । धेरै मान्छेले थाहा पाए र मलामी आए भने उनीहरूले दुःख पाउँछन् । म बस्ने भनेको तेरो घर र अजय-अजय सुमार्गी)को घर हो । तिमीहरू दुवैले म मरेको थाहा पाउनेछौ । मेरो निधनपछि दुइटा कुरा नगर्नू । पहिलो, धेरै मान्छेलाई मेरो निधनको बारेमा थाहा नदिनू, अर्को मेरो लासमाथि फूल, सिन्दुर कसैलाई पनि चढाउन नदिनू, राजनीति गर्न नदिनू ।' बेलुका मलाई चुनावमा सहयोग गरेबापत बक्सिस भन्दै उनका सबै पर्चा स्टिच गरेर दिए । अझैसम्म त्यो मसँग सुरक्षित छ ।
मरेपछि हाइ-हाई
'रुदाने' वीर अस्पतालको बेडमा लडिरहेका थिएँ । के भयो ? भनेर सोधेँ । उनले 'एउटा काँक्रो खाएको थिएँ, पखाला लाग्यो' भने । उनले अस्पतालको क्याबिनमा बस्न अस्वीकार गरेका थिए । साधारण बेडमा बसेका थिए ।
म उनीसँग अस्पतालमा बस्न थालँे । मलाई साह्रै दुःख लाग्छ- उनका त्यत्तिका आफन्त थिए, तर कोही पनि एकरात उनलाई कुर्न आएनन् । उनी असाध्यै कमजोर भएपछि मैले पत्रकारहरूलाई रूपचन्द्र विष्ट अन्तिम अवस्थामा छ भनेर लेखिदिनू भनेर धेरै अनुरोध गरँे । तर, मेरो कुरा कसैले सुनेनन् । मलाई त त्यसवेलादेखि नेपाली मिडियाको विश्वासै लाग्दैन । मलाई लाग्छ- त्यसवेला कुनै पत्रिकाले बेलैमा रुदानेको बारेमा लेखेको भए, उनको बाँच्ने सम्भावना धेरै थियो । मैले त्यसवेला वीर अस्पतालका डाक्टरहरूसँग पनि झगडा गरँे । म अझै पनि दाबीका साथ भन्छु- 'डाक्टरहरूको लापरबाहीले नै रूपचन्द्रको निधन भएको थियो ।'
अघिल्लो दिन उनी अत्यन्तै सिकिस्त थिए । त्यही दिन नेपालको एक चर्चित दैनिक पत्रिकाले 'रूपचन्द्र विष्ट सिकिस्त, स्वास्थ्य लाभको कामना' भनेर लेखिदियो । तर, कस्तो दुःखद् संयोग ! भोलिपल्ट त्यो पत्रिका बजारमा आउनुअघि नै उनको निधन भइसकेको थियो ।
रूपचन्द्र विष्ट बिरामी छ भनेर हेर्न आएकाहरूले उनको लास मात्रै हेर्न पाए । त्यस पत्रिकाले एक साताअघि मात्रै उनीबारे समाचार लेखिदिएको भए, रूपचन्द्र विष्टले सायद राम्रो उपचार पाउँथे ।
उनको पार्थिव शरीरमा सबैले फूल र अबिर चढाउन खोजेका थिए । तर, मेलै कसैलाई पनि त्यसो गर्न दिइनँ । मानिसलाई दुःख पर्दा उसको साथ कोही हुँदैन, तर उसको मृत्युपछि भने फूल चढाउन हुलै आउँदारहेछन् । अहिले पनि रूपचन्द्रको नाम लिएर ठूला कुरा गर्नेहरू धेरै छन् । तर, रूपचन्द्र काठमाडौंका गल्लीमा दुःखले भौंतारिँदा तिनै मान्छेले बेवास्ता गरे । म त सोझो मान्छे, धेरै कुरा जान्दिनँ । बस् यत्ति जान्दछु कि मरेपछि मात्रै रूपचन्द्रलाई महान् मानियो ।

No comments: