Thursday 28 June 2007

Hunger forces people to do unbelieveable

Source: Kantipur Daily (28 June)
दैलेख, असार १३ - चार वर्षदेखि थन्किएर सडेको चामल नष्ट गर्न खोज्दा दैलेखका बासिन्दाले खोसेर लगेका छन् । आफूहरू भोकै बस्नुपरेकाले सडेकै चामल भए पनि खाने तर नष्ट गर्न नदिने उनीहरूको अडान थियो ।
स्थानीय विकास मन्त्रालयलगायत दातृ निकायबाट छानबिन भई मुचुल्का गराएपछि सडेको सबै चामल डढाएर वा गाडेर नष्ट गर्ने निर्णय भएको थियो । खाद्य प्रयोगशालाले जीवजन्तुले समेत खान नहुने प्रतिवेदन दिएपछि १ सय ५६ क्विन्टल चामल नष्ट गर्न चुप्रास्थित खोला बगरमा पुर्‍याइएका बेला स्थानीयले आगो निभाएर लुछाचुँडी गरेका थिए । उनीहरूले सदरमुकामबाट नष्ट गर्न ल्याइँदै गरेको चामल ट्याक्टरबाटै पनि लुटेका थिए ।
सडेको चामल खान नमिल्ने र खोलामा बगाउँदा पनि प्रदूषित हुने भएकाले जलाउने र पुर्ने निर्णय भएको थियो । नष्ट गर्न लगिएका चामल खोस्न थालिएपछि त्यसतर्फ लैजान लागेका दोस्रो खेपका तीन ट्याक्टर र एक ट्रक चामल बुधबार बिहान सदरमुकाम फर्काइएको ट्याक्टर चालकले बताए ।
न्ाष्ट गर्नुपर्ने च्ाामल लिएर भाडामा गएका ड्राइभर मंगलबार चुप्रामा रातभर सुत्न पाएनन् । गाडिसकिएको चामल पनि मंगलबार राति २ बजेसम्म लाकुरी गाविससम्मका गाउँले आएर ओसार्न थालेपछि आफूहरू गाडी कुरेर जाग्राम बसेको अर्का ट्याक्टरका खलासीले बताए ।
नष्ट गर्न नसकी बुधबार बिहान फिर्ता ल्याइएको चामलसमेत सदरमुकामस्थित नमुना बस्तीका बासिन्दाले गोदाममा भित्र्याउन दिएनन् । वादी समुदायका ती बासिन्दाले नष्ट गर्नुको साटो उक्त चामल आफूहरूले पाउनुपर्ने माग राखेका थिए ।
नष्ट गर्न आएका कर्मचारीले सडेको चामल खान नमिल्ने बताए पनि कतिले चामल झिकेर गोदामनजिकै भतेरसमेत लगाए । 'मैले त गाडीमुनि बसेर यही चामल पकाएर खाएँ, मीठै लाग्यो,' उक्त बस्तीकी वृद्धा नैना नेपालीले भनिन् ।
सदरमुकाममा सित्तैमा चामल बाँड्ने हल्लाले अरू काममा बजार आएकाहरूसमेत बोरा किन्दै गोदामतिर कुदेका थिए । वरपरका गाउँबाट बोरा बोक्दै सदरमुकाम आउने क्रम दिनभर जारी रह्यो ।
स्थानीयले नष्ट गर्न तथा गोदाममा राख्न पनि नदिएपछि ६ राजनीतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारीसमेतको बैठक बसेको थियो । बैठकले उक्त चामल खान अयोग्य भन्दै बिहीबार गाड्ने गरी साँझ प्रहरी कार्यालय नजिक राख्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गर्न जिविस जुम्लाले ओभरसियर रामप्रसाद दासलाई दैलेख पठाएको थियो ।
विश्व खाद्य कार्यक्रमले जुम्लामा सञ्चालन गरेको 'कामका लागि खाद्यान्न' कार्यक्रमअन्तर्गतको
६ सय ९५ क्विन्टल उक्त चामल दैलेखमै सडेको हो । दैलेखसम्म मोटरमा ल्याई यहाँबाट बोकाउनुपर्ने भएकाले चामल यहींको एक घरमा भाडा तिरेर राखिएको थियो । विश्व खाद्यले गाडीले ढुवानी गर्ने स्थानसम्म लगिदिने र बाँकी ढुवानीको जिम्मा जिविस र उपभोक्तालाई दिएको थियो ।
यी दुई निकायको लापरबाहीले चामल सडेको कार्यक्रमका जिल्ला प्रतिनिधि नरेन्द्र केसीले बताए ।
कार्यक्रमले काम गरेको ज्यालाबाहेक ढुवानीबापत शतप्रतिशत चामल ज्याला दिने गर्छ । तर जुम्लाबाट दैलेख आएर प्रतिव्यक्ति ४० केजी चामल जुम्ला लैजान १० दिन लाग्ने भएकाले ज्यालाबापतको चामल पनि खाँदै सकिन्छ । त्यसैले उपभोक्ताहरू चामल लिन नआएकाले पनि सडेको हो । दुई वर्षअघि सदरमुकाममा गाडिएको दुई सय क्विन्टल चामल स्थानीय विपन्न परिवारले उतारेर खान लगेका थिए । कतिपयले त्यसलाई मदिरा बनाउन प्रयोग गरेका थिए ।

No comments: