Friday 19 September 2008

New Budget in Nepal

झण्डै सवा दुई खर्ब रुपियाँको बजेट ल्याउने तयारी


डा. बाबुराम भट्टराई
अर्थमन्त्रीले बजेटको आकार ठूलो भएपनि त्यो यथार्थको सिमाभित्रै रहने बताएका छन्, नेकपा माओवादीको नेतृत्वको सरकारले शुक्रवार सवा दुई खर्ब रुपियाँको हाराहारीको बजेट प्रस्तुत गर्ने, सरकारका उच्च स्रोतहरुले जनाएका छन्।

अघिल्लो वर्ष पौने दुई खर्ब रुपियाँको बजेट प्रस्तुत गरीएको थियो। अर्थमन्त्री डा बाबुराम भट्टराईले पनि बिहीवार बजेटको आकार बढ्ने संकेत दिएका छन्। संविधानसभामा प्रतिनिधित्व गर्ने २५ दलका प्रतिनिधिहरुसंग कुरा गर्ने क्रममा उनले त्यस्तो संकेत दिएपनि ठ्याक्कै बजेट रकम कति हुन्छ भनेर खुलाएनन्।

डा भट्टराईले भने, "गणतन्त्रपछिको पहिलो बजेट भएकोले सबैले सबै चीज पुगोस भन्ने चाहेका छन्। त्यसकारण यसको आकार धेरै ठूलो हुन पुग्छ। तर हामीले यसलाई यथार्थ धरातलमा रहेर तथा विद्यमान राजस्वका श्रोतलाई ध्यानमा राखेरै बनाएका छौं।" नेकपा माओवादीको नेतृत्वको सरकारले प्रस्तुत गर्न लागेको पहिलो बजेटलाई नजिकबाट नियालिरहेका विज्ञहरुले बजेटको आकार ठूलो बनाइएमा देशले धान्न नसक्ने चिन्ता व्यक्त गरेका छन्।

एकजना अर्थविद डा. विश्वम्भर प्याकु-यालका अनुसार ठूलो आकारको बजेट बनाएमा त्यसले बजेट घाटा बेस्सरी बढाउनुको साथै मूल्यवृद्धिलाई अनियन्त्रित बनाउन सक्छ।

तीव्र वृद्धि

अर्थमन्त्रीले नयाँ बजेटले देशको आर्थिक वृद्धिलाई तीव्र बनाउने दावी गरेका थिए। "आगामी वर्षको आर्थिक वृद्धिदर सात प्रतिशत तथा तीन वर्षमा दोहोरो अंकमा पुर्याउने लक्ष्य छ," उनले जनाए। राजस्वको प्रमुख स्रोत मूल्य अभीवृद्धि करलाई बहुदर प्रणालीमा लैजाने नीति बजेटले ल्याउने बताइएको बेला निजी क्षेत्रको विश्वास जित्ने कसरतमा करका दरहरुलाई धेरै नचलाउने संकेतपनि डा भट्टराईले दिएका थिए।
"अहिले अनावश्यकरुपमा दरहरु बढाउनुभन्दा पनि दायराहरुनै बढाउन उपयुक्त हुन्छ भन्ने हामीले ठानेका छौं। किनभने निजी क्षेत्रलाई आकर्षित नगरीकन हामीले लक्ष्य प्राप्त गर्न सक्दैनौं," उनले बताए।

प्राथमिकता

नयाँ बजेटका प्राथमिकताहरु भने पुरानै हुने भएको छ। कृषि, जलश्रोत, पर्यटन, पूर्वाधार निर्माण, जनशक्ति तथा औद्योगिकरणलाई बजेटले क्रमैसंग प्राथमिकता दिने अर्थमन्त्रीको भनाइ थियो।

No comments: