Tuesday, 2 June 2009

राजा वीरेन्द्रसँग बीस वर्ष

टीका धमला (Source: Kantipur Dailiy)
नेपालको राजनीतिक इतिहासमा राजा वीरेन्द्रको सम्झनाले हृदयस्पर्श नगर्ने सायद कमै नेपाली होलान् । विशेष गरेर प्रजातान्त्रिक राजनीतिक विकासका लागि उहाँबाट पुर्‍याइएका योगदानबारे इतिहासकारहरूले चनाखो भएर जिज्ञासा राख्ने गरेका छन् । त्यसमध्ये केही लिखित र केही अलिखित उदाहरण यस लेखमा प्रस्तुत गरिएको छ ।
राजा वीरेन्द्र बाल्यकालदेखि नै ज्यादै साधारण तथा शालिन व्यक्तित्वका धनी हुनुहुन्थ्यो भन्ने कुरा सुन्न-जान्नमा आएकै हो । दार्जिलिङको स्कुलमा पढ्दाखेरि एकपटक उहाँलाई नेपालका राजकुमार हुन् कि भनेर शंका लागेर कसैले 'बाबुको घर कहाँ हो' भनेर सोध्दा उहाँबाट सरल तरिकाले 'काठमाडौंको दरबारमार्ग हो' भन्ने जवाफ दिइएछ । हार्वर्ड विश्वविद्यालयका उहाँका शिक्षक पान्सिस जी हचिङको 'डेमोक्रटाइजिङ मोनार्क' नामक किताबमा पनि वीरेन्द्रका शालिनता र सरलपनसम्बन्धी प्रशस्तै उदाहरण उल्लेख गरिएका छन् । यो पंक्तिकार स्वयम् बीसौं वर्षसम्म राजा वीरेन्द्रको अंगरक्षक भएर बिताएका क्षणहरूसमेत उत्तिकै घतलाग्दा छन् ।
०५४ असोज १८ गते राति १२ बजेपछि राजा वीरेन्द्रका साथमा विशेष परिस्थितिवश नागार्जुन दरबारबाट त्रिशूली जाँदा उहाँ आफैंले ल्यान्डरोभर मोटर चलाउने काम भयो । यो पंक्तिकार अगाडि बस्यो, पछाडि सिटमा जित नामको जर्मन सेर्फड कुकुर थियो । राजाको विभिन्न ठाउँमा आवत-जावत हुँदा अगाडि छाडी सुरक्षा हुनु अनिवार्य हुन्छ । तर त्यसदिन सुरक्षा व्यवस्था मिलाउन खोज्दा उहाँलाई मान्य भएन र यसरी राति कसैलाई थाहा नदिई हिँड्नु पनि एक सुरक्षा हो भनेर चित्त बुझाउने काम भयो । तर यो सुरक्षा दृष्टिले सही तरिका थिएन । बिहान सात बजे सकुशल त्रिशूली ब्यारेक पुगियो ।
त्यसदिनको सन्दर्भ यहाँ उद्धृत गर्नखोजेको कारण राति बाटोमा सायद मोटर चलाउँदा निद्रा लाग्ला भनेर होला, राजा वीरेन्द्रबाट नेपाली जनतामाथि पञ्चायतकालमा होस् वा ०४६ पछि राजनीतिक शोषण भएको बारेमा धेरै कुरा भयो । कुनै चित्त नबुझेको कुरामा केही उत्सुकता राख्दा उहाँबाट पुस्टयाइँ हुने किसिमले जवाफ आउँथ्यो । प्रसंगवश त्यसरात नेपाली सेनाको ब्यारेकको कुरा निस्कियो । उहाँले ब्यारेक निरिक्षणका क्रममा सेनाका कमाण्डरहरूले दुइटा कुरामा मुख्य ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । त्यो हो, सिपाहीको भान्छा र शौचालय । यी दूई ठाउँ सुविधाजनक भए, अरू ठाउँ त्यसै ठीक हुन्छ भन्ने उहाँको भनाइ थियो । जहिले पनि ब्यारेक भ्रमण हुँदा सिपाहीसँग कुरा गर्न रूचाउने राजा वीरेन्द्र क्वाटरगार्ड निरीक्षणमा सिपाहीसँग भलाकुसारी नगरेको क्षण यो पंक्तिकारलाई थाहा छैन ।
२०४६ सालमा क्षेत्रपाटी, चाक्सीबारीमा केही भारतीय नेताहरूसहितको उपस्थितिमा हुनलागेको आमसभा त्यसबेलाको सरकारले रोक्न खोज्दा राजा वीरेन्द्रबाट उनीहरूलाई आमसभा गर्न देउ, बाँकी निर्णय जनताले गर्छन् भन्ने निर्देशन भयो । ०४७ सालको संविधान बनाउने सम्बन्धमा कैयौंपटक राजा वीरेन्द्र र संविधान बनाउने टोलीबीच विशेषगरी तत्कालीन प्रधानमन्त्रीसँग अन्तरक्रिया भइरहन्थ्यो । वीरन्द्रले ०४७ सालको संविधानलाई बढी परिस्कृत र व्यावहारिक बनाउन केही सुझाव र सल्लाह दिइरहनुहुन्थ्यो ।
नेपाली जनता, राजनीतिक पार्टी, नेता वा कसैबाट पनि बन्धक हुनुहुन्न र यदि बन्धक हुन वा गराउन खोजिएमा त्यसलाई मुक्त गर्न अन्य स्थापित राज्यहरूको संविधानको मूल्य-मान्यता हेरेर परिस्कृत बनाउनुपर्छ भन्ने उहाँको सोच थियो । सोही अनुरूप त्यसबेलाका प्रधानमन्त्रीसँग ०४७ सालको संविधानको मस्यौदामा केही हेरफेर गर्नुपर्ने सुझाव राजा वीरेन्द्रबाट हुँदा बाहिर संविधानमाथि राजाबाट हस्तक्षेप हुनलाग्यो भन्ने आरोप लाग्यो । त्यसपछि उहाँले तुरुन्तै प्रधानमन्त्रीलाई दरबारमा बोलाई 'यो संविधान तपाईंहरूले बनाउनु त भयो, यसमा धेरै राम्रा कूराहरू पनि छन्, तर यसमा जनताका प्रतिनिधिको रूपमा रहेका प्रधानमन्त्री शक्तिसम्पन्न कागजी रूपमा देखिएका छन्, पछि व्यवहारमा निरीह हुनसक्छन्' भन्ने कुरा राख्नुभयो । त्यसैले यो संविधानले १० वर्षजति त धान्ला, त्यसपछि गार्‍हो पर्नसक्छ भन्ने विचार त्यसबेला राजा वीरेन्द्रबाट व्यक्त भएको थियो । यसको स्मरण सम्बन्धित व्यक्तिहरूमा आज आएर भएको हुनुपर्छ ।
राजा वीरेन्द्रले कहिल्यै पनि आफूलाई अविकसित र अशिक्षित देशको कमजोर राष्ट्रप्रमुखको रूपमा प्रस्तुत गरेको पाइँदैन । अन्य देशका राजनीतिक व्यक्तित्व, प्रशासक र योजनाकारहरूसँग हुने विचार आदान-प्रदान जहिले पनि अविकसित देशको समस्या कसरी समाधान गर्न सकिन्छ भन्नेमै केन्दि्रत हुन्थ्यो । यसै सन्दर्भमा राजा वीरेन्द्रबाट संयुक्त राष्ट्रसंघको आयोजनामा भएको अल्पविकसित सम्मेलनमा उद्घोष भएको १६ भदौ २०३८ को सम्बोधनको केही लाइन यहाँ प्रस्तुत गर्नु सान्दर्भिक देखिन्छ ः 'मैले बोलेको यसैबेला दालभातका लागि कराइरहेको एउटा बालकको आवाज म सुन्छु । तर हामी उसलाई दालभात अथवा रोटीको बदला बम दिन्छौं । ऊ दयाको भीख माग्दै हामीतिर हेर्छ । तर हामी उसलाई निर्दयताको तिरस्कार दिन्छौं र ऊ शान्तिको कामना गर्छ, हामी युद्धको तयारी गर्छौं ।' के यो विकसित भनाउँदा देशको लागि चुनौती थिएन र ?
अर्कोर् उदाहरण काठमाडौंमा आयोजित सार्कको तेस्रो शिखर सम्मेलन -१६ कात्तिक २०४४) को सन्देशबाट पनि लिन सकिन्छ, जसमा 'राष्ट्रहरूलाई खण्डित गर्ने विचारधाराको जसरी नेपालले दृढताका साथ विरोध गर्दै आएको छ, त्यसरी नै एक मुलुकमाथि अर्को मुलुकको कुनै पनि प्रकारको अधिपत्यको नेपाल विरोध गर्छ ।' यी उदाहरणबाट राष्ट्र र राष्ट्रियताको लागि राजा अन्तर्राष्ट्रिय र क्षेत्रीयस्तरमा आफ्नो विचारको पारदर्शिता निर्भीक र नीडर रूपमा प्रस्तुत भएको पाइन्छ ।
०४७ सालपछिको अन्तरिम शासनकालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा कालीमाटीमा केही प्रहरीहरू निर्ममतापूर्वक मारिए, जसले गर्दा प्रहरीभित्रै विद्रोह सुरु भयो । त्यसबाट तत्कालीन नेताहरू आतंकित हुनथाले । त्यस स्थितिमा प्रधानमन्त्री भट्टराई राजिनामा लिएर दरबार पुग्नुभयो । राजाबाट उहाँलाई आश्वस्त पार्दै निर्देशन भयो, 'तपाईं नआत्तिनुहोस्, धैर्य लिएर काम गर्नुहोस्, म सहयोग गर्छु ।' लगत्तै बहुदलीय व्यवस्थालाई सबैले सहयोग गर्नु भन्ने सन्देश राजाबाट बाहिर आयो । राज्यप्रमुख र सरकार प्रमुखबीच त्यस्तै संस्कार र इमान अहिले देख्न पाइएला ? राज्यप्रमुख र सरकार प्रमुखबीच अप्ठयारा परिस्थिति राजा वीरेन्द्रका पालामा पनि आएका थिए । तर त्यसलाई सुल्झाउन वीरेन्द्रबाट तत्कालीन सरकारलाई कति सहयोग र समर्थन हुन्थ्यो भन्ने कुरा हालसम्म जीवित त्यसबेलाका प्रधानमन्त्रीहरूलाई सम्झना हुनुपर्छ ।
राज्य सञ्चालनका दौरान दलहरू एवं नेताहरूबीच द्वन्द्व त हुन्छ नै, तर त्यो संहारका निम्ति नभई अग्रगामी विकासको निम्ति हुनुपर्छ । राजा वीरेन्द्रको राज्यकालमा भएका द्वन्द्वमा अग्रगामी राजनीतिक विकास नै भएको पाइन्छ । जस्तै- ०३० दसकको सुरुमा नेपाली कांग्रेसका दूरदर्शी नेता बीपी कोइराला र राजा वीरेन्द्रबीचको राष्ट्रिय मेलमिलापको नीति, ०३६, ४२ र ४६ मा भएको राजनीतिक किचलोमा राजा वीरेन्द्र र तत्कालीन शीर्ष नेताहरूको दूरदृष्टिले नै निकास पाएको होइन र ? राजनेतामा बदलाको भावना होइन, वास्तविकता महसुस गरेर देश निर्माणमा सँगै अगाडि बढ्न/बढाउन सक्ने क्षमता हुनुपर्छ ।
राजा वीरेन्द्रको उच्च शालिनता, राजनीतिक समस्याहरूलाई अग्रगामी विकासका लागि अवसरको रूपमा प्रयोग गर्नसक्ने क्षमता, अन्तर्राष्ट्रियस्तरमा नेपाललाई सशक्त रूपमा प्रस्तुत गर्नसक्ने गुणका बाबजुद यी विकासप्रेमी राजाको ०५८ जेठ १९ गते दरबारमा भएको अकल्पनीय घटनामा देहावसान भयो । जसले गर्दा उहाँलाई चिन्ने-जान्ने विश्वका थुपै्र मानिस शोकाकुल भए । कतिसम्म भने राजा वीरेन्द्रको शवयात्रा कमलपोखरी पुग्दा एक अधबैंसे तिब्बती मूलकी महिला निर्माणाधीन घरको छतबाट उहाँको खुलिरहेको मुहार हेर्दै मेरो राजा मर्दा पनि हाँसी-हाँसी मरेछन् भन्दै विह्वल हुँदै छतबाट शवयात्रामा भएको हुलमाथि खसेर मूच्र्छा परिन् । उनलाई अस्पताल नै लैजानुपरेको थियो ।
आज लाग्छ, हरेक नेपालीको घर-घरमा र राजा वीरेन्द्रलाई चिन्ने-बुझ्नेहरूको मनमस्तिष्कमा उहाँको अनुपस्थिति खड्किएको छ । उहाँको प्रस्थान भएको आठ वर्ष पूरा भएको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना ।
नेपाली सेनाका अवकाशप्राप्त उपरथी धमला ०३८ देखि ५८ सम्म तत्कालीन राजा वीरेन्द्रका अंगरक्षक थिए ।

1 comment:

dipsaro said...

i'm dipak from Nepal,Sindhuli. Thank u for posting this type of article. coz it makes the innocent nepali people as know the king Birndra from near.And i'd would also like to give Simpathy for his peace soul...