Friday 21 September 2007

ज्वालामग्न कपिलवस्तु चन्द्रौटा

-सुदर्शन रिजाल

रूपन्देहीको सालझन्डीदेखि कपिलवस्तुको शिवपुर करिब ६० किमि सडकखण्ड यात्रा गर्ने जोकोहीले चार दिनदेखि आगोले जलिरहेको चन्द्रौटा बजार त देख्छ नै, सिङ्गो देश, नेपाली जनता दुःखिरहेको अनि देश युद्धक्षेत्र बन्नथालेको आभास पनि गर्छ । एकजना दृष्टिविहीन छात्रालाई काठमाडौं पुर्‍याएर र्फकंदै गर्दा यस पंक्तिकारले पनि राजमार्ग क्षेत्रका यी दृश्य देख्ने-भोग्ने अवसर पायो ।
भदौ २९ गते कपिलवस्तु वीरपुरका लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता अब्दुल मोहिन खाँको हत्यापछिका घटनाक्रम हेर्दा-भोग्दा लाग्छ, देश साँच्चिकै टेलिभिजनमा देखेजस्तो इराक बन्दैछ । हत्यापछि सीमापारिबाट आएका समेतका उच्छृङखल समूहले जसरी पहाडिया उपमा दिएर छानीछानी नेपालीका घरबस्तीमा हत्या, बलात्कार र आगजनी गर्ने काम गर्‍यो, त्यसले धेरैको विचल्लीमात्र होइन, बिल्लीबाठ-उठिबास लगाएको छ । त्यसपछि पनि संयमसट्टा बदलाभावले काम भइरहेका छन् । यो कहिलेसम्म जारी रहने हो भन्ने पनि अनिश्चितजस्तै छ । स्थिति नजिकबाट नियालिरहेकाहरूले खाँको हत्यापछि जेजस्ता घटना भइरहेका छन्, यसप्रति सरकार गम्भीर भएको छैन भनिरहेका छन् ।

माओवादी सरकारबाट बाहिरिएपछि सरकार, दलहरू र राजधानी धेरै तातेको छ । सरकारले मानवीय समवेदना बुझेर घटनाबाट विस्थापित आधा दर्जन बढी गाविसका ५ हजार बढी जनालाई घर फर्काउने लगायतका काम तत्काल बढाई घटना साम्य पार्ने जिम्मेवारी लिनसकेको छैन । यो कपिलवस्तु प्रशासन र चन्द्रौटा, गोरुसिङ्गे, पिपरा तथा कृष्णनगरका प्रहरीमात्रले साम्य पार्नसक्ने स्तरको घटना होइन ।

कपिलवस्तुको चन्द्रौटा बजारमा घटना भएको चौथो दिनसम्म आगोको मुस्लो कायम छ । अरू त के दमकलबाट पानी छर्ने प्रयाससमेत नभएको देखिन्छ । कपिलवस्तुको चार नम्बरदेखि शिवपुरसम्मका सडकखण्ड तथा आसपासका एक सयभन्दा बढी बस, ट्रक तथा जीप लगायतका सवारी साधनको अवशेषले सिङ्गो कपिलवस्तु जलेको अडकल गर्न कसैल्ााई गाह्रो पर्दैन । आगजनीमा परेका खुरुरियाको पथरदेइया, वीरपुर, देवीनगर मानपुर, बालपुर कटुवा, उज्ज्वलपुर र गुगौली गाउँमा न सरकार पुगेको छ, न मानवीय संघ-संस्थै । यी गाउँबाट ज्यान जोगाउन लालाबाला छाडेर भागदौड गर्दै परिवारका सदस्यसमेत बिछोडिएर आएका ५ हजार बढी विस्थापित अहिले भगवानपुर गाविस, चन्द्रौटा क्याम्प र गोरुसिङ्गे बजारका सार्वजनिक स्थलमा अस्थायी क्याम्प खडा गरेर बसेका छन् । पहिलो दिन प्रहरीसहितको सुरक्षा निकाय तथा स्थानीयवासीको सहयोगमा विस्थापितलाई खुवाउने काम भएकोमा मंगलबारबाट मात्र छिमेकी गाविस, गैरसरकारी संस्था, नेपाल रेडक्रस र सेनाको हेलिकप्टर समेतबाट

राहत ओरालेर खाना र बासको व्यवस्था मिलाइएको छ ।

घटना नजिकबाट नियाल्न विवश विस्थ्ाापितहरूसँग एक खालको मानवीय पीडामात्र छैन, समयमै यथार्थ बाहिर नआएको, पहिलो दिनै घटना भइरहेको जानकारी पाएर पनि प्रहरी प्रशासन निरीह बनेको र त्यसपछि सरकारले घटनालाई गम्भीर रूपले लिन नसकेको अनुभूति गरिरहेका छन् । यस्ता आरोपको सिकार पत्रकारसमेत भएका छन् । दोस्रो दिन गोरुसिङ्गे पुगेका सञ्चारकर्मीहरूलाई प्रहरी प्रशासनको भरमा सूचना सम्प्रेषण गरेको, घटना भएका ठाउँमा नआई सूचना सम्प्रेषण गरेको आरोपमा हातपातको प्रयाससमेत भएको थियो । पंक्तिकारले पत्रकारिता यात्रामा पहिलोपटक आफ्नो परिचयपत्र लुकाउनुपरेको थियो । यो विस्थापितहरूको पत्रकारप्रतिको आक्रोशभन्दा पनि उनीहरूको पीडाप्रति सरकार गम्भीर नभएको भन्ने हो ।

कपिलवस्तु घटना साम्य पार्न चन्द्रौटा, कृष्णनगर, गोरुसिङ्गे, पिपरा प्रहरीलाई हम्मेहम्मे परेको छ । उनीहरू रात पनि नभनी थप झडप र क्षति हुन नदिन लागिपरेका छन् । राजमार्ग खुला गरेर अलपत्र परेका यात्रु वारपार गराउनेदेखि विस्थापित भएकाहरूका लागि राहत सामग्री ल्याउन तथा वितरणमा समेत उनीहरूले सघाइरहेका छन् । त्यस्तै ज्यान जोगाउन घर छाड्न बाध्य पारिएका विस्थापितका लागि छिमेकी र आसपासका गाउँले तथा गोरुसिङ्गे बजारवासीले पनि सहयोग गरिरहेका छन् । मानवीय सेवाका साथै सञ्चारकर्मी र संयुक्त राष्ट्रसंघका गाडी पनि सडकमा कुदिरहेका छन् । तथापि पीडितहरूको एउटै आग्रह आफू गाउँमै गएर कसरी र के खाएर बस्ने अनि आफ्ना सबै सदस्य सुरक्षित छन् या छैनन्, उनीहरू कहाँ कस्तो अवस्थामा छन् भन्नेमात्र चासो छ । आफू पूर्ववत् अवस्थामा कसरी र्फकने र त्यसका लागि सघाउने निकाय कुन हो भन्ने सबैसामु प्रश्न छ । घटनाले कपिलवस्तुको केही गाउँमात्र प्रभावित पारेजस्तो देखिए पनि त्यहाँ भएको क्षति, क्षति गराइको प्रक्रिया र त्यसपछि उत्पन्न अन्त्यहीन प्रभावबारे कसैले गम्भीरतासाथ सोच्न भ्याएको देखिँदैन ।

कपिलवस्तु घटनाले उत्पन्न गरेको एउटा असहजताको उदाहरण यात्रामा रहेको यस पंक्तिकार आफैं सडकमा सुत्दै चार दिन लगाएर गृहजिल्ला दाङ आइपुग्यो । जिल्ला नर्फकंदासम्म पीडा देख्ने अनि जिल्ला फर्केपछि आफ्नै ध्याउन्नमा लाग्ने बानीले यस्ता समस्या समाधान हुँदैनन् । तथापि यसको अगुवाइ राज्यले गर्नुपर्छ र त्यसका लागि नागरिक संस्थाहरूले बल पुर्‍याउनुपर्छ । संक्रमणकाल तथा यस्ता घटना हुँदा सूचनाले अफवाहको रूप लिएर थप असहजता आउने सम्भावना पनि रहन्छ । जस्तो घटनाको दोस्रो दिन यस पंक्तिकार बुटवलमा छँदा चन्द्रौटा हुँदै जानसक्ने स्थिति छैन । गोरुसिङ्गेमा गोली चल्यो, गाउँका गाउँ खरानी छन्, चन्द्रौटामा मान्छे काटाकाट गरिरहेका छन्, मान्छेहरूलाई बलात्कार गर्दै उखुबारीमा फाल्ने गरिएको छ जस्ता हल्ला चलिरहेका थिए । एक सञ्चारकर्मीका नाताले यी हल्लाको सत्यता जाँचेर सही सूचना नागरिकमा प्रवाह गर्नुपर्ने पंक्तिकारको पनि दायित्व थियो । मैले बुटवल बसपार्कमै बसेर कपिलवस्तु चन्द्रौटा, गोरुसिङ्गे, पिपरा र सालझन्डी आदि स्थानमा फोन गरी अफवाहमा सरिक बसपार्कमा रहेको जनमानसलाई सान्त्वना दिने काम गर्नुपरेको थियो ।

तेस्राे दिन गोरसिङ्गे आउन ४० रुपैयाँ भाडा लाग्ने ठाउँमा ६५ तिरेर किया गाडीलाई 'हामी सुरक्षा दिन्छांै, हिँड' भनेर आउनुपरेको थियो । धेरै साथी 'त्यस्तो लडाइँ भइरहेको ठाउँमा किन जानु ? खुलेपछि जाउँला' भन्दै थिए । बीच बाटोमा पिपरा प्रहरी चौकीले गोरुसिङ्गेमा 'नाराबाजी भइरहेको छ, गोली चलेको छ, जान पाउनुहुन्न' भनेर रोक्यो । जबकि पश्चिमतर्फबाट गाडी आइरहेका थिए । हाम्रो सुरक्षा हामी गर्छौं भन्दै हामी जबर्जस्ती गोरुसिङ्गे आयौं, जहाँ स्थिति सामान्य थियो ।

घरबाट ज्यान जोगाउन विस्थापित भइआएकाहरू 'प्रमुख जिल्ला अधिकारी आएर हाम्रो कुरा सुन्नुपर्‍यो' भन्दै थिए । पछि माओवादी नेता सन्तोष बुढामगर, सुदर्शन तथा विधायक दामा सहितका माओवादी नेताले उनीहरूलाई सम्बोधन गर्दै 'सरकारले जनताको पक्षमा काम नगर्दा यस्ता दुःखद घटना भइरहेको' भन्दै मंगलबार सरकार छाडेको घोषणा गर्दै भाषण गर्नलाग्दा विस्थापितहरूले यो 'समस्याबारे तिमीहरूको धारणा राख, तिम्रा अरू भाषण हामीलाई चाहिएका छैनन्' भन्ने जवाफ दिए । साँझ स्थिति अलि साम्य भएको थियो भने राहत आउने क्रम जारी थियो । साँझ अबेर ७-८ वटा गाडी स्कर्टिङमा आए पनि नरोकेकाले हामी चढ्न पाएनांै ।

गाडी आउने आशमा म लगायत दाङ र नेपालगन्जका १८ जना साथी सर्पदंश उपचार केन्द्रको पेटीमा रात गुजार्‍यौं । बुधबार बिहान स्कर्टिङमा गाडी आएपछि ४० सिटे गाडीमा ६५ जना उभिएरै दाङ फर्किने मौका मिल्यो । गोरुसिङ्गेदेखि शिवपुरसम्मको राजमार्गमा खरानी परेका सम्पत्ति देख्दा मन पिरो भयो । त्यसमा पनि बसभित्रका यात्रुले 'गाडी नरोक, फेरि जलाइदेलान्' भन्दै चालकलाई गाली गर्दै थिए । काठमाडौं जाँदा चहलपहलबीच खाजा खाएर गएको चन्द्राैटा बजार र्फकंदा मुर्दा शान्तिभित्रको सन्नाटामा जलेका अवशेषमात्र देख्नुपर्‍यो । के अब हामीले यस्तै स्थ्ाानमात्र देख्नुपर्ने हो ?