Saturday 28 August 2010

प्रेरणाको एक अनुपम शिखर

BY जगदीश घिमिरे, Kantipur Daily

झमक घिमिरेको हालै प्रकाशमा आएको पुस्तक 'जीवन काँडा कि फूल' प्रेरणा-साहित्यको एक अनुपम शिखर हो ।
जन्मदेखि नै हातगोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने, तर सुन्न र बुझ्नचाहिँ सक्ने झमकले यसमा आफ्नो जीवनको अत्यन्त मर्मस्पर्शी अनुभव लेखेकी छिन् । झमकले यस पुस्तकमा व्यक्त गरेका भवनाहरू प्रत्येक सबलाङ्गका लागि हाँक हुन् भने प्रत्येक अशक्त र सशक्तसमेतका लागि प्रेरणास्रोत हुन् ।

झमकको यो कृति नेपाली प्रेरणा-सहित्यको मात्रै शिखर होइन, मैले हालसाल पढेका अमेरिकी प्रेरणा-साहित्यका करिब एक दसकयताका बहुचर्चित 'बेस्टसेलर'हरू- मिच एल्बमको 'ट्युजडेज विथ मौरी' र 'र्‍यान्डी पौश र जेफरी ज्यास्लोको 'दि लास्ट लेक्चर'भन्दा पनि उचस्तरीय छ । 'ट्युजडेज विथ मौरी' अमेरिकाको एक प्रोफेसर मौरी श्वात्र्ज प्राणघातक स्नायुरोगले मर्न लागेको बेलाको कथा हो ।

मरणासन्न बूढो गुरु र जवान पत्रकार चेलाका बीच भएको वार्तालापको तानाबानाले बनेको यस पुस्तकमा जीवनका गहन अनुभव र ज्ञानका कुरा छन् । जीवन-सन्देश छन् । प्रेरक सहित्य छ । यो सानो पुस्तक २००० सालमा अमेरिकामा सर्वाधिक बिक्रीको अग्रपंक्तिमा रह्यो । लाखौंलाख प्रति बिके । यसमा टेलिफिल्म बने ।

एक प्रतिष्ठित विश्वविद्यालयको ४५ वर्षे प्रोफेसर र्‍यान्डी पौशलाई सेप्टेम्बर २००६ मा प्यान्त्रिmयाज

-पक्वाशय वा पाकन्थली) मा प्राणघातक क्यान्सर भएको थाहा भयो । उपलब्ध आधुनिकतम उपचार गरे पनि अगस्त २००७ मा उनलाई- 'तीनदेखि छ महिनासम्म राम्रो स्वास्थ्य' रहने हदम्याद दिइयो ।

अनि उनले आफ्नो विश्वविद्यालयमा बाल्यकालीन सपना साँच्चै साकार पार्ने विषयक अन्तिम र आशावादी प्रवचन दिए, जसलाई पछि पत्रकार जेफरी ज्यास्लोसँग मिलेर 'दि लास्ट लेक्चर' नामक पुस्तकाकार दिए ।

अमेरिकामा डेढ वर्षभन्दा बढी सर्वाधिक बिक्रीको सूचीमा रहेको 'दि लास्ट लेक्चर'का लाखौं प्रति बिके । र्‍यान्डी पौश रातारात विशाल अमेरिकाका एक सेलिबि्रटी भए । अनेक मान, सम्मान र पुरस्कार पाए । अनेक टेलिभिजन कार्यक्रम बने, फिल्म बने जसमा प्रतिष्ठित सिनेमा बनाउनेले र्‍यान्डीलाई खेल्न निम्त्याए, र्‍यान्डीले खेले । अमेरिकाका छापा लगायत सबै सञ्चारमाध्यमले र्‍यान्डीको जीवन- सन्देशको व्यापक प्रचार-प्रसार गरे । र्‍यान्डी २००८ मा बिते ।

झमक यस देशको गहना हुन् । सेलिबि्रटी हुन् । उनलाई आजसम्म ज-जसले माया र प्रोत्साहन गरेका छन्, ती धन्य हुन् । झमकको जीवन, जीवन-संघर्ष र जीवन-सन्देश जति महत्त्वपूर्ण र उच्चस्तरीय भए पनि हाम्रो सरकार, हाम्रा नागरिक संस्था वा सञ्चार व्यवसायले झमकलाई अपवादबाहेक खासै मूल्यांकन र प्रोत्साहन गर्लान् जस्तो लाग्दैन । त्यो हाम्रो दुर्भाग्य हो । तर यो पुस्तक पढ्ने र मर्म बुझ्ने पाठकले निसन्देह उनलाई माया, मान र प्रोत्साहन गर्नेछन् ।

चार वर्षअघि मलाई मल्टिपल माइलोमा भन्ने क्यान्सर लागेको थाहा भयो । डाक्टरले जीवनको म्याद तोके । उपचारको क्रममा अस्पतालमा मैले 'अन्तर्मनको यात्रा' लेखेँ । प्रकाशित भएपछि पुरस्कारहरू पायो र प्रेरणा-साहित्यका रूपका राम्रै चर्चा पायो ।

झमकको बाहेक माथि चर्चा गरिएका तीनैवटा पुस्तकका नायकहरू सबलाङ्ग हुन् । औकात र अवसरअनुसार राम्रो स्कुल, कलेज र विश्वविद्यालयको शिक्षा पाएका थिए । सफल व्यावसायिक जीवनयापन गरेका थिए । संसार डुलेका थिए । घातक रोगले प्रहार गर्नु अघिसम्म आफ्ना सबै इन्दि्रयहरूको उपयोग गर्न पाएका थिए । चाहेका किताब पढ्न पाएका थिए । रोजेको संगत गर्न पाएका थिए । उनीहरूका ती पुस्तकहरू त्यसबेला लेखिए, जब तिनका नायकहरूले अप्रत्याशित रूपमा ऐनामा आफ्नो प्रतिविम्बको रूपमा कालको अनुहार देखे । दुई अमेरिकीहरू बितिसके । म कालको तारिख धान्दैछु ।

तर झमकले ऐनामा हेर्दा आफ्नो प्रतिविम्बको रूपमा कालको अनुहार देखेर यो पुस्तक लेखेको होइन । त्यसैले उनको जीवनको अनुभव र यस पुस्तकमा त्यसको अभिव्यक्ति माथिका तीनैवटा 'बेस्टसेलर" पुस्तकहरूभन्दा उच्च छ । किनभने उनको जीवनको संघर्ष हामी तीनैजनाको भन्दा उच्च छ । झमकले यस पुस्तकमा लेखेका

प्रत्येक शब्द जीवनको गहिरो र आत्मानुभूतिका उपज हुन् । लुला हातगोडा, विकलाङ्ग शरीर लिएर 'कति छाक भोकभोकै बस्ने परिवार'मा जन्मेकी झमकलाई जन्मनेबित्तिकै स्वजनले 'मुर्कुट्टा' भने । दशैंमा टीका लाएर उनलाई 'चाँडै मरेस्' भन्ने आसिक दिए । उनले कुनै पाठशाला र गुरुबाट सिक्न पाइनन् । सिक्न खोज्दा 'तैंले सिकेर के गर्छेस् ?' भनियो । गोडाको बूढीऔंलाले छर्छरी रगत निकाल्दै भुइँमा कपुरी क लेख्दा भुइँ भत्काई भनेर गाली गरियो । कापीकलम माग्दा कुटाइ खाइन् । कहिलेकाहीं ओठमा उमि्रएको हाँसो पनि 'धेरै नहाँस्' भन्ने आदेशमा विलाउँथ्यो । मान्छेले उनलाई अलच्छिनी भने, बाटो छले । जोखाना हेर्नेले सन्तान पिर्छे भने । पाँच वर्षको हुँदा भात खुवाइदिने बजू मरेपछि गोडाका औंलाले मुछेर भात खान थालिन् । भोकै-नाङ्गै हुर्किसकेपछि आफंैले विस्टा पुछ्ने प्रयत्नमा विस्टामा लट्पटिँदै, नौ-दस वर्षको हुँदा घरमा कोही नभएको बेलामा घर बनाउन आएका सिकर्मी-डकर्मीबाट फाटेको लुगाबाट देखिने गुप्ताङ्गमा ताकेर मसिना ढुंगाले हानेर र कुरीकुरी भनेर गरेको यौनशोषण सहने जस्ता अनेक आपत्-विपत् सहँदै उनी हुर्किन् ।

उनलाई कसैले अक्षर सिकाएन, बहिनीलाई पढाएको सुनेर सिकिन् । बहिनी पढिरहेको, लेखिरहेको ठाउँमा जाँदा 'डिस्टर्ब भयो' भनेर हप्काउँथे र उनले परै बस्नुपथ्र्याे । उनी लेख्छिन्- 'बाबाले बहिनीका औंला समातेर अक्षर लेख्न सिकाएजस्तै मलाई पनि सिकाइदिए कस्तो जाती हुन्थ्यो भन्ने लाग्थ्यो । तर मलाई सिकाइदिनु त परै जावोस्, पर बसेको हेरेको देखेर भन्ने गर्थे- 'तँ जान्दिनस्, के हेर्छेस्, तैंले जानेर पनि के गर्नु ?... मसँग भोक थियो, तर भोक लाग्यो भन्ने आवाज थिएन, प्यास थियो, तर त्यसलाई व्यक्त गर्ने कुनै माध्यम थिएन । जिन्दगी जसोतसो घिसि्ररह्यो... म प्याक्क मुख बाइदिन थालेँ । प्यास लाग्दा पानीको गाग्रो देखाउँथेँ, दिसा-पिसाब लाग्दा गुप्ताङ्ग देखाउँथेँ, कुनै कुरामा विमति जनाउन खुट्टो हल्लाउँथेँ । ...'

'म जब घाम डाँडामाथि आउँथ्यो, त्यो के होला भनेर हेरिरहन्थेँ । मान्छेहरू भन्थे- हेर घाम डाँडामाथि आइसक्यो । अनि म त्यो डाँडामाथिको घाम रहेछ भन्थेँ । त्यसलाई हेरेर भुइँमा सिन्काले लेख्थेँ- 'घाम' । जब रात पथ्र्याे, मान्छे भन्थे- 'रात परेपछि केही पनि देखिँदैन ।' म त्यो रात रहेछ भनेर छक्क परेर हेरिरहन्थेँ र सिकुवामा औंलाले लेख्थेँ- 'रात ।' '...ममा पनि आम बालबालिकाहरूको जस्तै हिँडेर परपरसम्म पुग्ने चाहना थियो । तर गोडाले भर दिएनन् । त्यसैले म घसि्रन थालेँ । घसि्रएर दुई-चार हात टाढा पुगे पनि मलाई नयाँ देश पुगेझैं रमाइलो लाग्थ्यो । ...अलि पर पुगेर नयाँ झारपात देख्नु, बटुल्नु, चुँड्नु मेरालागि नौला कुरा हुन्थे । त्यसभन्दा परको संसार देखेकी थिइन ।'

उनले आगो समातेपछि मात्रै 'आत्था' भनेको पोल्नुरहेछ भन्ने बुझिन् । यसरी मरिमेटेर बुझ्न शब्द बुझिन्, भाव बुझिन्, शब्द जोडेर वाक्य लेखिन् । भुइँमा, शीतको थोपाले ढुंगामा, भात खाने थालमा गोडाको औंलाले लेख्ने अभ्यास गरिन् । प्रत्येक अभ्यासमा गाली वा कुटाइ खाइन् । भुइँ कोरेर फोहोर पारी भनेर, शीत खेलाएर र छिटो भात नखाएर बदमासी गरी भनेर ।

उनी लेख्छिन्- 'मैले भुइँ पनि धेरै कोरेँ, शीतका थोपा पनि रित्याएँ, आफ्ना कलिला औंलाका छाला पटक-पटक उप्काएँ र रगत पनि छरछरी बग्यो । ...मान्छेहरू शीतलाई जूनको आँसु भन्छन्, मैले त्यही आँसुले अक्षर लेखेर जिन्दगीको नयाँ रंग भरेछु, नयाँ खाका कोरेछु ।'

झमक आफ्ना सबै काम गोडाका औंलाको भरमा गर्छिन्- खाने, दाँत मल्ने, लेख्ने आदि । मलाई यो पुस्तक नपढुन्जेल झमकले गोडाको औंलाले किताब लेख्छिन् भन्ने कुरा चमत्कारजस्तो लागेको थियो । तर त्यसभन्दा ठूलो चमत्कार हो- उनले कसरी अक्षर सिकिन्, शब्द सिकिन्, भाव सिकिन् र सबै कुराले सम्पन्न आजका नेपाली लेखकहरूमात्र होइन, संसारको कुनै पनि भाषाको लेखकका लाममा अग्रपंक्तिमा उभिन समर्थ भइन् । यो आज उनले यस पुस्तकमार्फत आफैंले आर्जन गरेको उपलब्धि हो र सानोतिनो उपलब्धि होइन । उनका अगाडि हामी कतिजना एक किसिमले 'सर्वसम्पन्न' सबलाङ्ग लेखकहरू लघुमानव भएका छौं ।

करिब अठ्ठाइस वर्षको उमेरमा यत्तिको किताब लेखिन्, जुन सम्भवतः उनको जस्तो अवस्थाको कुनै पनि व्यक्तिले लेख्नु भनेको चमत्कार हो । झमक प्रेरणा-साहित्यको लेखकका रूपमा नेपाली भाषा रहेसम्म अमर रहनेछन् ।

उनको संघर्ष, आँट, अठोट, सिक्ने र गर्ने क्षमता प्रत्येक मान्छेको लागि प्रेरणास्पद छ ।

झमक प्रगतिकामी र अग्रगामी परिवर्तनको पक्षधर हुन् । उनी रानीलाई भेट्न र आफूलाई प्रदर्शन गरेर सहयोग माग्न इन्कार गर्ने स्वाभिमानी हुन् । त्यसैले शाही सरकारले उनको महिनावारी एक हजार रुपियाँको भत्ता बन्दसमेत गर्‍यो ।

झमकमा अग्रगामी युगीन चेतना छ । उनले नेपालको लामो द्वन्द्वका घाउहरू छामेकी छन् । उनले सुराकी भनेर दुइटा खुट्टा र एक हात काटिएका नेपाली कांग्रेसका कार्यकर्ता भेटेर भन्छिन्- 'मान्छेले गरिखाने शरीरमाथि एउटा पक्षले मात्र होइन, दुवै पक्षले निर्दयी र नृशंस पाराले खेले । ...मान्छे मर्नु र कीराफटेङ्ग्रा एउटै कुरोजस्तो भयो...गणतन्त्रको अर्थ यही हो त ?'

झमकले यस पुस्तकमा लेखेका प्रत्येक शब्द अनुभवको आरनमा खारिएर निस्केका इस्पातका

टुक्रा हुन् । मैले झमकलाई देखेभेटेको छैन । उनले मलाई उनका पुस्तकहरू पठाएकी छन् र मैले उनलाई मेरा । pustakharumarfat हाम्रो संवाद भएको छ ।

दुई वर्ष रेमिसनमा रहेको -दबेर बिसेकजस्तै भएको) मेरो क्यान्सर गत पुसमा बल्झेर म सिकिस्त भएको समाचार छापिएको थियो । उनले मोबाइल संवाद पठाइन्- 'दादा, तपाईंलाई अहिले कस्तो छ ?'

म लगातारका किमो उपचारबाट दिक्क भएको थिएँ र निराशाजनक जवाफ दिएँ । उनले मलाई हाँक दिएर फेरि संवाद पठाइन्- 'मेरोजस्तो अवस्थामा पनि म निराश छैन, तपाईं किन निराश हुने ?'

झमक, म तिमीप्रति नतमस्तक छु ।

No comments: